Monday, January 3, 2011

इलेक्ट्रिक दाहसंस्कार गर्न तयार हुनुहुन्छ?

परम्परागत दाहस‍ंस्कार
हिन्दु रित अनुसार अन्त्येष्टी जलाएर गरिन्छ। योबाहेक अरु कुनै पनि उपाय स्वीकार्य छैन। यहाँसम्म कि मान्छेको लाश फेला पर्न नसके पनि कुशको मानव आकृति बनाएर त्यसैलाई शरीर मानी जलाइन्छ। परम्परादेखिको यो कामलाई अब अलि आधुनिकीकरण गर्न खोजिँदैछ। जलाउन त जलाउने नै हो, तर दाउराले हैन विद्युतले। पशुपति क्षेत्र विकास कोषले आर्यघाटनजिक विद्युत् शवदाह गृह आउँदो माघ महिनासम्ममा बनाउने काम थाल्ने भएको छ। यसलाई आवश्यक पर्ने भवन निर्माणको ठेक्का कोलकत्ताको इन्डोमेण्ड इन्जिनियरिङ सर्भिसले पाइसकेको छ। भवनका लागि साढे चार करोड रुपैयाँ र मेसिनको लागि दुई करोड ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ। अहिलेलाई एक पटकमा दुई वटा लाश जलाउन सकिनेछ। दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ (लोडसेडिङ नभए)
तर प्रश्न उठ्छ, परम्पराअनुसार दाउराबाट नभई विद्युतबाट लाश जलाउन आफन्तहरु तयार होलान् ? के तपाईँ आफ्नो आफन्तको लाश दाउराको विकल्प रहेको अवस्थामा पनि यसमा जलाउन तयार हुनुहुन्छ ?
भारतको विद्युत शवदाह गृह। फोटो साभारः ipwtgroupindia.com

पक्कै पनि वातावरणीय हिसाबले इलेक्ट्रिक दाहस‌ंस्कार बढी राम्रो हुन्छ। मानिसहरु यो गर्नु पर्छ र त्यो गर्नुपर्छ भनी भाषण ठोक्न सजिलो मान्छन्। तर आफूलाई पर्दा वा आफूले गर्नुपर्दा भने हच्किन्छन्। उदाहरणका लागि छिमेकी देश भारतको बनारसको घाटलाई लिन सकिन्छ। इन्साइक्लोपिडिया अफ क्रिमेसन पुस्तकका अनुसार त्यहाँका इलेक्ट्रिक दाहसंस्कार मेसिनमा दाहसंस्कार गराउन आउनेहरु बनारस सहर र त्यो जिल्ला बाहिर कै बढी हुन्छन्। यो माध्यम सस्तो भए पनि मानिसहरु बढी पैसा तिरेर परम्परागत रुपमै दाहस‌‍ंस्कार गर्न रुचाउँदा रहेछन्। पुस्तकका अनुसार १५ प्रतिशतभन्दा कमले मात्रै इलेक्ट्रिक विकल्प रोज्छन्। सुरुसुरुमा त सनाखत नभएका र गरिबहरुको लाश मात्रै त्यहाँ जलाइन्थ्यो।
नेपालमा भने कस्तो हुने हो, त्यो हेर्न बाँकी छ। किनभने नेपालमा पहिलो पटक पशुपतिमा नै इलेक्ट्रिक दाहसंस्कारको व्यवस्था हुन लागेको हो।
एउटा सानो सर्वेक्षण गरी हेरौँ यो विषयमा-

यदि तपाईँ निर्णय गर्ने ठाउँमा हुनुहुन्छ भने आफन्तको शव केमा अन्तिम संस्कार गर्नुहुन्थ्यो?
VoteView Results
Share ThisPolldaddy.com

No comments:

Post a Comment

thank you