Friday, September 23, 2011

फेसबुकको नयाँ घोषणा- टाइमलाइन


विश्वभर ७५ करोड प्रयोगकर्ता भएको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकले केही दिन अघि गरेको परिवर्तनबारे अधिकांश प्रयोगकर्ताले नकारात्मक टिप्पणी गर्दैगर्दा नेपाली समय अनुसार बिहीबार राति अबेर उसले अझै नयाँ नयाँ घोषणा गरेको छ। सान फ्रान्सिस्कोमा भएको डेभलपरहरुको वार्षिक सम्मेलन एफ८ मा यस्तो घोषणा गरिएको हो। फेसबुकका लागि गेम र अरु एप्लिकेसनहरु बनाउने डेभलपरहरुको यो भेलामा नयाँ सेवाहरु टाइमलाइन, म्युजिक, मुभिज र टिभीको परीक्षण काल (बेटा पिरियड) आजैदेखि सुरु हुने घोषणा गरियो। ती मध्ये फेसबुकको प्रोफाइललाई सजाउन मिल्ने नयाँ सुविधा समयरेखा अर्थात् टाइमलाइनको बारेका केही चर्चा गरौँ। टाइमलाइन प्रयोग गरेर सजाए पछि तपाईँको प्रोफाइल पेज माथिको जस्तो देखिनेछ-



माथिको फोटोमा तपाईँले याद गर्नुभयो होला, एउटा ठूलो फोटो। फोटो ठूलो पार्न फेसबुक निकै उत्सुक भएको देखिन्छ। केही दिनअघि मात्रै पनि उसले फेसबुकमा अपलोड हुने फोटोहरु पहिलेभन्दा ठूलो आकारमा देखिने बनाएको थियो। अहिले फोटोहरु ७२० पिक्सेलसम्म ठूलो हुने गरेको छ। तर माथिको फोटोमा देखिएको टाइमलाइनमा त त्योभन्दा ठूलो फोटो देखिन्छ। यही यसको विशेषता हो। यो नयाँ किसिमको प्रोफाइल पेज हो।

त्यो ठूलो फोटोको ठाउँमा तपाईँले आफूलाई मन पर्ने जुनसुकै फोटोले सजाउन सक्नुहुन्छ। अहिलेको प्रोफाइल पेजमा तपाईँका भर्खरका क्रियाकलापहरु माथि देखिने हुँदा तपाईँका महत्त्वपूर्ण कुराहरु तल तल जाँदै पुरिएको हुनसक्छ। अस्ति भर्खर नगरकोट जाँदा खिचेका दामी फोटोहरु तल परेर नदेखिने भएको र मोबाइलबाट खिचेका त्यति जरुरी नभएका फोटोहरु माथि परिरहेको हुनसक्छ। फेसबुकका अनुसार अहिलेको प्रोफाइलमा ९९ प्रतिशत तपाईँका अपडेटहरु गायब हुन्छन्। ती पुराना पोस्टहरुलाई पेजमुनि रहेको ओल्डर पोस्टमा क्लिक गर्दै गर्दै गएर मात्र फेला पार्न सकिन्छ।
तर यो नयाँ समयरेखा अर्थात् टाइमलाइनमा त्यसो हुँदैन। विगतका पोस्टहरु, फोटो समयक्रम अनुसार मिलाएर त्यहाँ आउने गर्छ। सन् २००९ मा तपाईँको बिहे भएको थियो। सन् २०१० मा छोरी जन्मिइन्….लहरै। टाइमलाइनमा के देखाउने, केलाई विशेष रुपमा देखाउने, केलाई लुकाउने सब तपाईँको हातमा हुनेछ।


तपाईँको जीवनको महत्त्वपूर्ण कुरा तपाईँको टाइमलाइनमा छैन भने तपाईँ त्यसलाई पछाडि गएर थप्न पनि सक्नुहुनेछ। अर्थात् सन् २०१० को मार्चमा तपाईँको जीवनमा भएको महत्त्वपूर्ण घटनाको बारेमा पोस्ट गर्न त्यतिबेला बिर्सनु भएको रहेछ भने अहिले गर्न सक्नुहुन्छ। प्राइभेट एक्टिभिटी लगमा गएर कुनै पोस्ट टाइमलाइनमा देखिने बनाउन पनि सक्नुहुन्छ। प्राइभेट एक्टिभिटी लगमा तपाईँले फेसबुक ज्वाइन गरेको बेलादेखिका सबै गतिविधि हुन्छन्।
नयाँ प्रोफाइलमा तीन मुख्य भाग हुनेछन्। पहिलो कभर, यसमा तपाईँले आफूलाई मन लागेको फोटो ठूलो साइजमा राख्न सक्नुहुनेछ। दोस्रो भागमा स्टोरिज अर्थात् तपाईँका पोस्टहरु, फोटोहरु आदि इत्यादि। तेस्रोमा एप्स- तपाईँले हेर्नुभएको फिल्म, सुन्नुभएको गीत, माइस‌ंसारमा गर्नुभएको कमेन्ट आदि इत्यादि।
ट्विटर र गुगल प्लससँग कडा प्रतिस्पर्धा गरिरहेको फेसबुकले आफूलाई टिकाइराख्न पनि केही न केही नयाँ गरिरहन जरुरी छ। नयाँ घोषणा त्यसैको स्वरुप हो। इन्टरनेटमा अभ्यस्तहरुका लागि नयाँ सुविधा रोमाञ्चक हुनेछ। तर भर्खर भर्खर फेसबुक चलाउन बानी परेकाहरुलाई भने नयाँ सुविधाले अन्यौलमा पार्न सक्छ। सोसल नेटवर्किङ साइटमध्ये फेसबुकमै सबभन्दा धेरै नेपालीहरु जोडिएका छन्। उनीहरुले यसलाई कसरी लिने हुन्, हेर्न बाँकी छ। मैले केही समय चलाइ हेरेँ यसलाई, मलाई भने राम्रो लाग्यो यो नयाँ सुविधा।

फेसबुकका मालिक मार्क जुकरवर्ग एफ८ सम्मेलनमा सम्बोधन गर्दै।
फेसबुक डेभलपर्स सम्मेलनको मौकामा यो घोषणा गरिए पनि आगामी केही हप्तासम्म तपाईँले टाइमलाइन फेसबुकमा देख्नसक्नुहुनेछैन। यसबारेमा विस्तृत जानकारी हेर्न तथा टाइमलाइन मैले पनि पाउँ न भनी अनुरोध यहाँ क्लिक गरी गर्न सक्नुहुन्छ।

No comments:

Post a Comment

thank you