बूढो ठिटोको २२ घन्टा
सुव्रत आचार्य
विमानस्थलको मूलद्वारमा ब्रायनलाई क्यामेरामा कैद गर्न थुप्रै सञ्चारकर्मीको घुइँचो लागिसकेको थियो । उच्च सुरक्षा प्रबन्धका साथ सरासर आइरहेका ब्रायन उनीहरूलाई देखेपछि टक्क अडिए र झोलाबाट सानो डिजिटल क्यामेरा झिकेर उल्टो आफैं तस्बिर खिच्न थाले । त्यसपछि सबैलाई हात हल्लाउँदै जापनीज मित्सोका कम्पनीको बा.८च. ६३१४ नम्बरको गाढा नीलो जेड जिरो फोर कारमा सवार भएर नेपाल प्रहरीको इस्कर्टिङसहित त्यहाँबाट हुइँकिए र माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै होटल सोल्टी क्राउन प्लाजातर्फ लाग्दा रंगशालामा मानिसहरूको घुइँचो देखेर उनले नेपालमा आफ्नो कन्सर्ट सफल हुने अनुमान लगाइसकेका थिए । ब्रायनको सवार कार आयोजकमध्येका एक सिमान्त गुरुङले हाँकेका थिए ।
होटल सोल्टी पुग्नासाथ पञ्चेबाजासहितको टोलीले उनको स्वागत गर्यो । सञ्चारकर्मीहरूसंग छोटो अन्तक्रिया गरेपछि उनी होटलको अतिविशिष्ट सुइटको बैठकमा प्रवेश गरे । सुइटभित्र आयोजकहरू तथा सुरक्षा निकायका केही पदाधिकारीसँग हात मिलाए, त्यसपछि उनी आराम गर्न सुइटको बेडरुमतर्फ लागे । त्यतिबेला दिनको साढे तीन बजिसकेको थियो । सुइटको बेडरुममा प्रवेश गरेको केही क्षणमै एडम्स बाहिर निस्किए र 'रुम रिप्लेस' गर्ने इच्छा व्यक्त गरे । सुइट धेरै ठूलो भएको र आफू एक्लो भएकाले होटलकै अरू कुनै कोठामा सिफ्ट हुने इच्छा उनले देखाए । अन्ततः एडम्सका लागि भनेर सजाइएको सुइटमा उनी नबस्ने नै भएपछि होटल व्यवस्थापनले उनका लागि कोठा नम्बर ३१६ को व्यवस्था गरिदियो र उनी त्यहाँ आराम गर्न थाले । उनको ब्यान्डका सदस्यहरूलाई क्रमशः ३१७ र ३१८ मा राखिएको थियो । उता रंगशालामा कन्सर्ट सुरु भैसकेको थियो । हजारौं दर्शक ब्रायनको प्रतिक्षामा राजु लामा, ईश्वर गुरुङ तथा रविन तामाङका गीत सुनिरहेका थिए । ब्रायन भने सोल्टीको कोठामा आफुलाई तयार पार्दै थिए । यसबीच उनले आफ्नो रुममा अरेञ्ज जुस मगाएका थिए ।
बेलुका ठीक साढे छ बजे ब्रायन सोल्टीको लबीमा मधुर मुस्कान छर्दै देखा परे । उनले कालो ज्याकेट, डार्क ब्लु जिन्समा कालो छालाको जुत्ता लगाएका थिए । उनको आफ्नै 'ब्रायन स्टाइल' मा चटक्क मिलाएर केश कोरेका थिए । त्यति बेला उनी निकै तन्नेरी देखिएका थिए । गाडीमा प्रवेश गर्ने बेलासम्म उनी कसैसँग बोलेनन् । अनुहारमा मुस्कुराहट भने जस्ताको तस्तै थियो । उनी मुस्कुराउँदा उनको अघिल्तिरको दन्तलहरको बीचको खाली भाग प्रस्ट देखिन्थ्यो ।
नेपाल दूरसञ्चारको भवन पारी रंगशालाको उत्तर-पश्चिम ढोकाबाट ब्रायन चढेको कार रंगशालामा प्रवेश गरेपछि मञ्चमा उनी आइसकेको घोषणा हुँदै थियो । ब्रायनलाई त्यहाँको विशिष्ट कक्षमा लगियो । केही बेर त्यहाँ आराम गर्न लगाउँदा उनको ब्यान्डका सदस्यहरू मञ्चमा उक्लिएर सेटिङ मिलाउन थाले । ब्रायन मञ्चमा उक्लिएपछि 'क..क..क..क्याटमाण्डू' बोलको वार्मअप गीत सुनाए । कन्सर्टमा केही गीत मात्र प्रस्तुत गर्लान भन्ने अनुमानविपरित ब्रायनले लगातार २४ वटा गीत सुनाए ।
साढे नौ बजे कन्सर्टबाट फर्किएपछि उनी होटल सोल्टीको लबीमा पुगे र आफ्ना प्रशंसकहरूसँग तस्बिर खिचाए । यस क्रममा ब्रायनले महिला प्रशंसकहरूलाई बढी प्राथमिकता दिइरहेका थिए । ब्रायन तन बूढो भए पनि मन तन्नेरी भएका पुरुष देखिए । विमानस्थलदेखि नै उनी विशेष गरी महिला प्रशंसकहरूसंग तस्बिर खिचाउन उत्सुक थिए । पुरुष प्रशंसकसँगभन्दा उनी महिला प्रशंसकहरूसंग केही वार्तालाप पनि गरिरहेका हुन्थे । मञ्चमा गाउने क्रममा पनि उनले महिला प्रशंसक बृन्दा सिंहलाई नै निम्त्याए । अनि र्फकने बेलामा पनि विमानस्थलमा केही परिचारिकासँग तस्बिर खिचाए । ५१ वर्षीय यी गायक तन्नेरी रहिरहनुको एउटा रहस्य यो पनि हुनसक्छ ।
कन्सर्टबाट फर्किएपछि रेस्टुराँ जानेक्रममा स्वीमिङ पुलनजिकैको बगैंचामा उनी निकै छिटो हिंडिरहेका थिए । अरूलाई उनको पाइला पछ्याउन गाह्रो परिरहेको थियो । त्यसैले एडम्सले सबैलाई जिस्काउँदै भने - 'यु गाइज आर रियल्ली स्लो, वाक फास्ट' (तिमीहरू निकै बिस्तारै हिँडिरहे का छौं, छिटो हिंड)' । उनको फुर्तिलो शैलीले सबैलाई हँसाएको थियो ।
आफ्ना भान्छेलाई साथै लिएर आएका ब्रायनले खाएका परिकारहरू सोल्टी होटलको भान्छामा तयार पारिएका थिए । उनले खाना खाने बेलामा सबैलाई बाहिर निस्कन आग्रह गरियो । उनले सोल्टीको अलफ्रेस्को इटालियन रेस्टुराँमा आफ्नै सेफले बनाएको पास्ता रातिको खानाका रूपमा खाए । पूर्ण शाकाहारी एडम्सले खानापछि सुन्तालाको फ्रेस जुस पिए । होटल व्यवस्थापनका एक कर्मचारीले जानकारी दिएअनुसार एडम्स निकै थोरै खाना खाँदा रहेछन् । खानाभन्दा जुस बढी पिउँदा रहेछन् र ब्ल्याक कफी पिउन उनलाई सानो कप होइन, ठूलै मग चाहिँदो रहेछ । रातको खानापछि उनी आफ्नो रुममा विश्राम गर्न गए ।
बिहान रुममा सुन्तलाको जुस र केही फलफूल मगाएका ब्रायनले त्यसपछि सम्भवतः यहाँ केही खाएनन् । साढे १० बजे आयोजक टिम होटल पुगिसकेको थियो । ब्रायन होटलका कर्मचारीहरूलाई धन्यवाद दिँदै गाडीमा चढे । अघिल्लो दिन उनी आउँदा देखिएको सञ्चारकर्मीको भीड त्यहाँ थिएन । सम्भवतः कसैलाई पनि ब्रायन र्फकन लागेको समय थाहा नभएको हुनसक्छ ।
साढे बाह्र बजे लन्डन जाने कतार एयरवेजको फ्लाइटमा आफ्नो टिमसहित र्फकन लागेका एडम्सलाई विमानस्थलको अतिविशिष्ट कक्षमा तस्बिर खिचाउनेहरूको हुलले छाडेन । हुलले पिछा नछोडेका कारण उनी विमानस्थलको एउटा कोठामा गै आयोजकहरूसँग कुरा गर्न थाले । अघिल्लो दिनको कार्यक्रम अत्यन्त राम्रो र सफलतापूर्वक आयोजना गरेकोमा ब्रायनले सुरेशजंग रायमाझी, सिमान्त गुरुङ, रविन गुरुङलगायत सबैलाई धन्यवाद दिए । त्यसपछि एयरपोर्टको सपिङ काउन्टरमा पस्मिनाको स्कार्फ र नेपाली टोपी लिए । आयोजकले ती सामानको पैसा आफैंले तिरेर उनलाई उपहार दिएको बताएपछि ब्रायन निकै दंग भए र अर्को एउटा स्कार्फ पनि थपे । त्यसपछि उनले कतार एयरवेजको लाउञ्जमा गएर कफी तथा स्यान्डबीच अर्डर गरे । त्यहाँ पनि प्रशंसकहरूले तस्बिर खिच्न नछाडेपछि ब्रायनले उनीहरूलाई भने- 'कृपया मलाई दुई मिनेट यी खानेकुरा खान दिनुहुन्छ ?' एक कर्मचारीले हवाईजहाज उनको आगमनको प्रतीक्षामा रहेको बताएपछि उनले उठेर दुई औंला ठड्याउँदै हात हल्लाए । अन्ततः आगामी वर्ष पर्यटकका रूपमा खुसुक्क नेपाल आएर यहाँको प्राकृतिक दृश्यमा रमाउने वाचा सहित ब्रायनले भने- 'सी यु गाइज ।'
No comments:
Post a Comment
thank you