Thursday, March 10, 2011

चार्ल्स शोभराज पनि अनुसन्धानको घेरामा, प्रहरी पुग्नुअघि नै बोडेबाट दुई सहयोगी फरार THURSDAY, 10 MARCH 2011 14:48


युनुस अन्सारीलाई गोली हानेको अभियोगमा पक्राउ परेका जस्जीत सिंहले एक महिनादेखि केन्द्रीय कारागारका बन्दी चार्ल्स शोभराजलाई भेट्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्। माघ २२ गते भारतको लखनउबाट काठमाडौँ आएका सिंहले नियमित रुपमा शोभराजलाई भेट्ने गरेको र आज पनि शोभराजलाई भेट्ने बहानामा कारागारभित्र प्रवेश गरी अन्सारीलाई गोली हानेको खुलेको एआईजी अर्जुनजंग शाहीले बताए। शाहीका अनुसार घटनाका सम्बन्धमा शोभराजको संलग्नताबारे समेत अनुसन्धान सुरु गरिएको छ। 




  प्रहरीका अनुसार सिंह पक्राउ परे लगत्तै बोडे वडा नम्बर २ को एक घरमा अभियुक्तहरुको डेरा रहेको खुलेपछि प्रहरी कोठामा पुगेको थियो। तर प्रहरी पुग्नुअघि नै सिंहका सहयोगी सुरेश द्विवेदी र रामु द्विवेदी फरार भइसकेका थिए। अपराध महाशाखका अनुसार दुवै भारतको लखनउका हुन्। प्रहरीले फरार दुवै अभियुक्त बारे जानकारी दिनेलाई ५० हजार पुरस्कारको घोषणा गरेको छ।

एआईजी शाहीले केन्द्रीय कारागारको सुरक्षामा लापरवाही देखिएकाले ड्युटीमा खटिएका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार प्रहरी सहायक निरीक्षक लक्ष्मण भण्डारी, सिपाही मनोजकुमार कार्की र तिलकराम चौधरीलाई निलम्बन गरिएको छ। यी तीनै जना प्रहरी सिंह कारागार प्रवेश गर्दा चेकिङमा थिए। प्रहरीले कारागारको सुरक्षाको जिम्मेवारी रहेको डीएसपी लगायतका अन्य प्रहरी अधिकृतलाई भने अनुसन्धान र कारबाहीको दायरामा ल्याएको छ।

प्रहरीले पक्राउ परेका सिंहलाई महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ।

गोली हान्ने भारतीय नागरिक जज्जीत सिंह, 'हतियार गुप्ताङ्गमा लुकाएर लगियो'
महानगरीय प्रहरी आयुक्तको कार्यालयले युनुस अन्सारीमाथि भएको गोली प्रहारको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गोली हान्ने अभियुक्त जज्जीत सिंहलाई सार्वजनिक गरेको छ। प्रहरीको सुरक्षा घेरा तोडेर युनुससम्म पुग्ने भारतीय नागरिक सिंह अर्का कैदी चार्ल्स सोभराजलाई भेट्ने निहुँमा आएको आयुक्त अर्जुनजंग शाहीले जानकारी दिए। उनका अनुसार अभियुक्त सिंहले पेस्तोल गुप्ताङ्गमा लुकाएर भित्र लगेको अनुसन्धानले देखाएको छ। उनले भारतमा चार हत्या गरिसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ, आयुक्त शाहीले भने, कलंकीको एउटा घरमा बसेर सिंह र अन्य दुई जनाले योजना बनाएका थिए।

केन्द्रीय कारागारका दुई प्रहरी जवान निलम्बित
महानगरीय प्रहरी आयुक्त कार्यालयले सुरक्षा चेकिङमा त्रुटी गरेको अभियोगमा केन्द्रीय कारागरको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरेको छ। आयुक्त कार्यालयका प्रवक्ता माधव नेपालले आगन्तुकको चेकिङमा खटिएका दुई जना प्रहरी जवानलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको बताए। निलम्बित जवानको नाम खुल्न  नसकेको नागरिकन्युजकर्मी केपी ढुंगानाले बताए।

प्रहरीले थाल्यो एआईजीको नेतृत्वमा छानबिन 
प्रहरी प्रधान कार्यालयले कार्यविभागका प्रमुख एआईजी रवीन्द्रप्रताप शाहको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रहरी प्रवक्ता नवराज ढकालका अनुसार समितिमा सशस्त्र निर्देशनालयका डीआईजी परशुराम खत्री र आयुक्त कार्यालयका एसएसपी माधव जोशी सदस्य छन्।

ढकालका अनुसार प्रहरीले संगठित सञ्जाल र केन्द्रीय कारागारमा भएको सुरक्षा त्रुटीको विषयमा अनुसन्धान गरिरहेको छ। उनले भने, 'अनुसन्धान प्रगतिउन्मुख छ, बेलुकासम्ममा धेरै जानकारी खुल्न सक्छ। जानकारी पूर्ण भएपछि पत्रकार सम्मेलन गरी दिनेछौँ।'

No comments:

Post a Comment

thank you