Tuesday, October 4, 2011

फूलपाती

काठमाडौँ, असोज १६- बडादसैँअन्तर्गत सप्तमी तिथिमा आज नेपालभर परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइने गरिन्छ। दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ। 
सो फूलपाती गोरखा दरबारबाट पुजारीसहित मगरजातिका छजनाले धादिङको जीवनपुरको दसैँघरमा ल्याउने परम्परा छ। काठमाडौँबाट गएका बाहुन जातिका छजनाले जीवनपुरबाट काठमाडौँको जमलसम्म सो फूलपाती ल्याउने गरिन्छ।
हर्षबढाइँका साथ फूलपाती भित्र्याउन गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोका दरबारबाट जमल प्रस्थान गर्दछ।
घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने घरघरमा फूलपातीका दिनदेखि नै सुरु हुन्छ।
फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ-आफ्ना घर फर्किरहेका छन्।
गाउँघरमा फूलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकलाई अझ बढाउने गरेका छन्। 

No comments:

Post a Comment

thank you