Thursday, October 27, 2011

Tihar Special...

नेवार समुदायको विशेष पर्व- म्ह पूजा 

कृष्णराज गौतम- यमपञ्चकको चौथो दिन सम्पूर्ण नेवार समुदायले मनाउने "म्ह पूजा" नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ।

शरीरको सेवाबाट स्वस्थ र पवित्र बन्न सकिने मान्यताअनुसार म्हः पूजा विभिन्न जाति र धर्ममा विभाजित रहेका सम्पूर्ण नेवारद्वारा स्वीकारिएको छ।
नेपाल भाषामा म्हः को अर्थ शरीर हुन आउँछ तसर्थ यसको समग्र अर्थ शरीरको पूजा हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी 'म' र 'परमात्मा' बीच कुनै अन्तर नभएको अनुभूति गरेर शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ।
संस्कृतिविद् डा.मिलन शाक्य विश्व ब्रम्हाण्डकै स्वरूप रहेको मानवशरीरमा सबै प्रकारका धर्म र कर्म प्राप्तिका प्रमुख साधन रहेकाले विश्वका सबै धर्मले यस शरीरलाई ईश्वरसँग भेट्ने र ईश्वरलाई बुझ्ने मन्दिरका रूपमा उपयोग गरेको बताउँछन्।
समग्र देवता, ऊर्जाशक्ति, विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ।
वेद, गीता, उपनिषद्, पुराण, बौद्ध दर्शन, जैन दर्शन, नेपाली तथा नेपाल भाषा वाङ्मयका साथै कुरान, बाइबल, आदि सबै धर्मग्रन्थमा आत्मोद्धारका बारेमा चर्चा गरिएको डा.शाक्य बताउँछन्।
यो पर्व कहिलेदेखि सुरु भएको हो भनेर भन्न सकिने अवस्था भने नरहेको भए पनि कुनै समयमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेकाले धेरै मानिसको क्षति हुन गएको र त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास पनि गरिन्छ।
स्वस्थ शरीरभित्रको स्वस्थ मनबाट मात्र ब्रह्मको चिन्तन मनन गर्न सकिने हुँदा त्यसको प्राप्तिका लागि शरीरलाई शुद्ध बनाएर मनलाई स्थिर राख्नका निमित्त यो पूजा प्रचलनमा रहेको उनी बताउँछन्।
शरीरको अनुपस्थितिमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने भएकाले शरीर भित्रको चैतन्यलाई उजागर गर्ने सन्दर्भमा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रमअनुसार पूजा गर्नुपर्छ।
संस्कृतिविद् सत्यमोहन जोशी शरीरप्रति रहेको चेतनाको परंतत्वलाई प्रतिनिधित्व गराइने गरी करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्ज्वलित दीपलाई मानवदेहसँग परिकल्पना गर्ने गरिएको बताउँछन्।
म्ह पूजा गर्नका निमित्त मण्डलको निर्माण गरी ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाका साथै विभिन्न फूल अक्षतालगायत सयपत्री फूलले पूजा गरिने म्हपूजामा विशेषतः आफूले आफूलाई यथार्थ धरातलमा महसुस गरिन्छ।
सो पूजाका लागि पुरोहित तथा बाहुन चाहिँदैन र शुभसाइत पनि हेराउन पर्दैन।
बाल्मीकि विद्यापीठका सहप्राध्यापक डा.विष्णु दाहालले स्वस्थ शरीरद्वारा नै सबै प्रकारका धार्मिक, साँस्कृतिक, सामाजिक, राजनीतिक आदि कर्म गर्न सकिने हुँदा यो पर्व यमपञ्चकसँग जोडिएकाले पनि यसको प्रारम्भ यमपञ्चकको सुरुवातसँगै भएको हुनसक्ने बताए।
नागार्जुन बौद्ध अध्ययन प्रतिष्ठानका प्रमुख एवम् त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक मीनबहादुर शाक्यले बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने प्रचलन रहेको बताए।
नेवार समुदायका बौद्ध अनुयायीले गर्ने म्हपूजाको स्रोत उही भए पनि पूजाको शैली भने केही फरक रहेको छ। यस सम्प्रदायमा विभिन्न नौ किसिमका गेडागुडीको प्रयोग गरी मण्डल निर्माण गरिन्छ।
सौर्यमण्डल गोलो भएकाले सोहीअनुरूप विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिएको भन्दै त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), यमराज, कुलदेवताको आराधना गरेर दशै दिशाका लोकपालको पनि म्हपूजा गर्दा पूजा गरिने परम्परा रहेको शाक्यले जानकारी दिए।
बौद्ध अनुयायीले मण्डलको दाहिनेतर्फ विशेष तरिकाले गरिएको लामो धागोको तेल बत्तीलाई म्हः पूजाको आदिदेखि अन्त्यसम्म अविच्छिन्नरूपमा प्रज्ज्वलित हुन दिनपर्ने त्रिरत्न र दशलोकपालको पूजापश्चात् घरमूलीले अनिवार्य पूर्वदिशातिर फर्केर म्हःपूजा गर्ने र अरु सदस्यले आफ्नो अनुकूलअनुसारको आसनमा रहेर शरीरको पूजा गर्ने प्रचलन रहेको छ। रासस

नेपाल संवत्‌को नयाँ वर्ष आज 

  नागरिक- नेपाल संवत्‌को नयाँ वर्ष आज देशका विभिन्न भागमा मनाइँदैछ। काठमाडौँमा यस पटक सांस्कृतिक र्‍यालीपछिको सभा टुँडिखेलमा गरिँदैछ। अघिल्ला वर्षहरुमा यस्ता सभा बसन्तपुरमा हुँदै आएको थियो। सभामा प्रधानमन्त्री बाबुराम भट्टराई प्रमुख अतिथि रहनेछन्।
११३२ वर्षअघि शङ्खधर साख्वाले काठमाडौँ उपत्यकाका गरिबको ऋण मोचन गरी नेपाल संवत्‌को प्रारम्भ गरेका थिए।
नेपाल संवत् ८८८ वर्षसम्म आधिकारिक संवतका रूपमा प्रचलनमा रहेकामा वि.सं. १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो।
नेपालमा वि.सं. २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवतलाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थियो।
मन्त्रिपरिषद्को गत कात्तिक ८ गतेको बैठकले नेपाल सम्वत्लाई पनि सरकारी क्यालेन्डरमा समावेश गर्ने उद्देश्यले नेपाल सम्वत् र अन्य सम्वत्का विषयमा अध्ययन गरी एक प्रतिवेदन तयार गर्न पद्मरत्न तुलाधरको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति गठन गरेको छ।
नेपाल संवत् प्रारम्भ गरेर समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएकै फलस्वरूप शङ्खधर साख्वालाई कांग्रेस नेतृत्व सरकारले वि.सं.२०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो। त्यसैगरी माधव नेपाल नेतृत्वको सरकारले तीन वर्षअघि यो संवतलाई राष्ट्रिय संवत्‌को मान्यता दिएको थियो।

'नेपाल संवत् नेपालीहरुको मौलिक पहिचान' 

नागरिक-राष्ट्रपति रामवरण यादवले नेपाल सम्बत् ११३२ को अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा नेपाल सम्बत् ११३२ ले सम्पूर्ण नेपालीमा सहिष्णुता, सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी विकास गर्न सफल हुनेछ भन्ने विश्वासका साथ मुलुक र मुलुकवासीलाई शान्ति र समृद्धिको पथमा अगाडि बढ्न नयाँ वर्ष थप मार्गदर्शक बन्न सकोस् भन्ने कामना गरेका छन्।
त्यसैगरी प्रधानमन्त्री बाबुराम भट्टराईले शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याई जनचाहनाअनुरुपको नयाँ संविधान निर्माण गर्ने प्रमुख अभिभारालाई पूरा गर्न दीपावली, छठ र नेपाल सम्बत्जस्ता पर्वहरूले हामी सबैलाई सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने हौसला प्रदान गर्ने अपेक्षा गरेका छन्।
प्रधानमन्त्री भट्टराईले आज दिएको शुभकामना सन्देशमा नेपालीहरूको महान् चाड दीपावली, छठ र नेपाल सम्बत् ११३२ का अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
सन्देशमा भनिएको छ- पारिवारिक मिलन र सामाजिक हार्दिकता अभिवृद्धि गर्ने प्रतीकको रुपमा समस्त नेपालीले हर्ष र उल्लासका साथ परम्परादेखि दीपावली, छठ र नयाँ वर्ष जस्ता चाडपर्वहरू मनाउँदै आएको उल्लेख गर्दै यस किसिमका चाडपर्वहरूले मुलुकको साँस्कृतिक विविधता, सामाजिक सद्भाव र साम्प्रदायिक एकतालाई अक्षुण राख्दै आएका छन्।
"नेपाल सम्बत् नेपालीहरूको मौलिक पहिचान हो। नेपाली परम्परा र मौलिकतासँग अन्योन्याश्रित सम्बन्ध रहेको यस सम्बत्ले राष्ट्रिय सम्बत्को रुपमा मान्यता पाइसकेको छ। शङ्खधर साख्वाले ऋणमोचन गरी आर्थिक तथा सामाजिक सुधारको थालनी गरेको सन्दर्भमा सुरु भएको यस सम्बत्ले सामाजिक विभेदको अन्त्य, समानता, विपन्नहरूको सम्मान र सामाजिक सद्भाव कायम राख्न जोड दिएको पाइन्छ"- प्रधानमन्त्री भट्टराईले सन्देशमा उल्लेख गरेका छन्।

 


 


 

No comments:

Post a Comment

thank you