कानुनी बाटो खुला गरिए आगामी डेढ महिनाभित्र दुर्घटना परेर वा आकस्मिक रूपमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाको शरीरका अन्य अंग अन्य बिरामीमा प्रत्यारोपण गर्न सकिनेछ।
नेपालमै मानव अंग प्रत्यारोपणका लागि महत्त्वपूर्ण एचएलए (ह्युमन ल्युकोसाइटिस एन्टिजिन) प्रयोगशाला स्थापना हुने भएपछि अब १२ घन्टाभित्रै नमूना परीक्षण गर्न सकिनेछ। ल्याब अभावमा अंग प्रत्यारोपणपूर्व गर्नुपर्ने एचएलए परीक्षण र टिस्यु टाइपिङ भारतमा गर्नुपर्छ। यसका लागि दुई साता र ५५ हजार रुपैयाँ लाग्छ। ल्याब स्थापना भएपछि २५ हजार रुपैयाँमै यो परीक्षण हुन्छ।
ल्याब स्थापनासँगै ब्रेन डेथ भएकाको अंग झिकेर जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ। ब्रेन डेथ भएकाको अंग २४ घन्टाभित्र झिकिसक्नुपर्ने कानुन भएकाले यसअघि सम्भव थिएन। कानुनमा सामान्य परिमार्जन गरिए अंग प्रत्यारोपण गर्न सकिन्छ।
'भारतबाट रिपोर्ट आउन दुई साता लाग्ने तर ब्रेनडेथ भएको २४ घन्टामै एचएलए टेस्ट गरेर अंग झिक्नुपर्ने भएकाले सम्भव थिएन,' वीर अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले भने। एचएलए परीक्षण अंग मिल्छ वा मिल्दैन भन्ने थाहा पाउन र प्रत्यारोपणपछि शरीरमा औषधीको मात्रा कति छ भन्ने जाँच गरेर थपघट गराउन चाहिन्छ।
गायिका आनीछोइङ डोल्मा अध्यक्ष रहेको आरोग्य फाउन्डेसनको सक्रियतामा करिब २ करोड मूल्य पर्ने उपकरण अमेरिकाबाट ल्याउने प्रक्रिया सुरु भइसकेको र जनवरीभित्र स्थापना भइसक्ने संस्थाका सचिव एवं वीर अस्पतालका प्रत्यारोपण विशेषज्ञ श्रेष्ठले बताए। फाउन्डेसनले सञ्चालन गर्ने ल्याब कुपन्डोलमा राखिनेछ। गायिका डोल्माले आफ्नो जीवनी पुस्तक र एल्बम बेचेर कमाएको १ करोड रुपैयाँभन्दा बढी रकम उक्त उपकरण ल्याउन दिने घोषणा गत फागुनमा गरेकी थिइन्। डोल्माको जीवनी आठ भाषामा अनुवाद भएर संसारभर बिक्री भइरहेको छ। मिर्गौलासम्बन्धी रोगबाट मृत्यु भएकी आफ्नी आमाको सम्झनामा आनीले सहयोग तत्परता देखाएकी हुन्।
फाउन्डेसनमा अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. श्रेष्ठ, उनकी धर्मपत्नी नवीना, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, डा. विमल थापा र चार्टर्ड एकाउन्टेन्ट सुदर्शन पाण्डेलगायत छन्।
नेपालमा मिर्गौलाको प्रत्यारोपण सुरु भए पनि ल्याब निर्माणसँगै मुटु, कलेजो, फोक्सो, प्याक्रिंयाज, बोनम्यारो, अनुहारलगायतका अंगको प्रत्यारोपणपूर्व अन्य पूर्वाधार भए परीक्षणका लागि बाहिर लैजानु नपर्ने श्रेष्ठले बताए। 'कानुनमा सामान्य परिमार्जन गरेर ब्रेनडेथ भएकाको मिर्गौला तत्काल प्रत्यारोपण गर्न सकिन्छ,' उनले भने, 'त्यसका लागि वीर अस्पताल सक्षम छ।' अहिले मिर्गौलाबाहेक अन्य अंगको प्रत्यारोपण नेपालमा गर्न सम्भव छैन।
मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १६ मा मृत व्यक्तिको शरीरबाट अंग झिक्न सकिने उल्लेख छ। अंग निकालिने व्यक्तिको मस्तिष्क मृत्यु (ब्रेन डेथ) भइसकेको भनी कम्तीमा दुई चिकित्सकले प्रमाणित गरेको र अंग दान गर्न चाहनेले स्वेच्छाले दिएको उल्लेख हुनुपर्छ। 'अहिले पहिल्यै अंगदान परम्परा सुरु नभएकाले परिवारको स्वीकृतिमा दिन सकिनेछ भन्ने व्यवस्था राखेमात्रै पनि काम गर्न सकिन्छ,' श्रेष्ठले भने, 'त्यसका लागि हामीले सभासद्हरूसँग छलफल गरिसकेका छौँ।'
२८ महिनाअघि शिक्षण अस्पताल र २ वर्षअघि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएसँगै दुवै संस्थाले स्वास्थ्य मन्त्रालयसँग पटकपटक यस्तो प्रयोगशाला स्थापना गर्न बजेट मागेका थिए। हालसम्म शिक्षणमा ६० र वीरमा ३९ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ। नयाँ प्रयोगशाला बनेपछि यी दुवै अस्पताल र अन्य निजी अस्पतालले समेत प्रत्यारोपण सेवा दिन सक्नेछन्।
दुर्घटना वा अन्य अवस्थामा टाउकोमा चोट लागेर वा ब्रेन ह्यामरेज भएको मस्तिष्कलगायत केन्द्रीय स्नायु प्रणालीले काम गर्न छाडेपछि 'ब्रेन डेथ' घोषणा गरिन्छ। 'ब्रेन डेथको धड्कन, नाडी हुन्छ तर क्लिनिकल्ली ऊ मृत नै हो,' श्रेष्ठले भने, 'यस्ता व्यक्ति फर्किएर आउँदैन र अन्य अंगले विस्तारै काम गर्न छाड्छन्।
No comments:
Post a Comment
thank you