कहिलेसम्म सार्वजनिक होला त यो ? एक घण्टामा एउटा कागजात मात्रै सार्वजनिक हुने हो भने पनि सबै कागजात सार्वजनिक हुन साढे २८ वर्ष लाग्ने रहेछ। त्यसमाथि अहिले अमेरिका सीधै विकिलिक्सविरुद्ध युद्धमा उत्रिएको छ। हिजो दबाब दिन लगाएर अमेरिकी कम्पनी अमेजनको सर्भरबाट विकिलिक्सलाई लात्ताले हानेर निकालियो भने आज अमेरिकी डिएनएस कम्पनीले विकिलिक्स डट ओआरजी साइट नै बन्द गरिदियो। विकिलिक्स पनि कम्ताको छैन, ९ घण्टापछि स्विट्जरल्यान्डबाट wikileaks.ch का साथ ऊ पुनः उपस्थित भयो। कन्डम फुटेकोले रोकिउ भन्दा पनि नमानिकन सेक्स गरेको भन्दै दुई युवतीले बलात्कारको आरोपमा लगाएको मुद्दामा इन्टरपोलले यसका संस्थापक जुलियन असान्जलाई रेड कर्नर नोटिस जारी गरेको छ। उनलाई हत्या गर्नुपर्ने क्यानाडेली प्रमका सल्लाहकारले टिभीमा सार्वजनिक रुपमा भनेका छन्। उनीविरुद्ध घृणा अभियान चलाइएको छ। उनलाई केही भयो भने यी कागजात सार्वजनिक होला त ? यसको जवाफ अन्साजले आज गार्जियनको लाइभ च्याटमा दिएका छन्।
एउटा प्रश्नको जवाफमा उनले यसो भनेका छन्-
The Cable Gate archive has been spread, along with significant material from the US and other countries to over 100,000 people in encrypted form. If something happens to us, the key parts will be released automatically. Further, the Cable Gate archives is in the hands of multiple news organizations. History will win. The world will be elevated to a better place. Will we survive? That depends on you
अर्थात् यी गोप्य दस्तावेजहरुलाई इन्क्रिप्टेड स्वरुपमा एक लाखभन्दा बढी ठाउँमा पठाइएको छ। हामीलाई केही भयो भने मुख्य अंशहरु आफै सार्वजनिक हुनेछन्। त्यस्तै यी कागजात धेरै समाचार संस्थाहरुको हातमा पनि छ। इतिहासले जित्नेछ। हामी बच्नेछौँ त ? त्यो तपाईँमा भर पर्छ।
उनले यी गोप्य कागजात एक लाखभन्दा बढी जनालाई पठाइएको कुरा पहिलो पटक आज सार्वजनिक गरेका हुन्। यसअघि यी कागजात विश्वका पाँच प्रमुख प्रतिष्ठित सञ्चार संस्थासँग भएको कुरा मात्र सार्वजनिक भएको थियो- स्पेनको Le Monde र El Pais, बेलायतको The Guardian, जर्मनीको Der Spiegel. गार्जियनले अमेरिकाको New York Times सित पनि आफूसित भएको सामाग्री बाँडेको थियो। अहिलेसम्म यी मूल धारका मिडियाले छानेका र समाचार बनाएका कागजातहरु मात्रै विकिलिक्सले सार्वजनिक गर्दै आएको छ। यी पाँच मिडियाले १२० पत्रकारहरुको एउटा समूह बनाएको छ र त्यही समूहले छलफल गर्दै कुन कागजात सार्वजनिक गर्ने भन्ने निर्णय गर्दै आएको छ। न्युयोर्क टाइम्सले त्यस्तै सय वटा जति कागजात मात्रै सार्वजनिक गर्ने बताएको छ। अरु मिडियाले पनि त्यस्तै संख्यामा मात्रै कागजात सार्वजनिक गर्ने र अरु पत्रकारिताको हिसाबले कुनै मूल्य नभएको बताएको छ। यी मिडियालाई विकिलिक्सले एम्बार्गो पनि लगाएको छ। अर्थात् निश्चित समयभन्दा अघि सार्वजनिक गर्न नपाउने। वासिङटन पोस्टले छापेको समाचार अनुसार विकिलिक्सले सीएनएन र वाल स्ट्रिट जर्नललाई ती कागजातका लागि एम्बार्गो तोडे एक लाख डलर जरिवाना तिर्नुपर्ने शर्त राखेपछि उनीहरुले त्यसलाई अस्वीकार गरेका थिए। के त्यसो भए नेपालको कागजात हामीले कहिल्यै हेर्न पाउँदैनौँ त ?त्यसो हैन, यी कागजात अरु मिडियालाई पनि दिइएको हुनसक्छ। किनभने लेबनानको अल अखबारले मध्यपूर्व क्षेत्रको विशेष गरी लेबनानको कागजात हात पारेको छ। कसरी हात पार्यो, त्यो भने रहस्य कै विषय बनेको छ। इजिप्टको एउटा प्रतिष्ठित दैनिकले पनि कागजात हात पारेको छ। तर उसले सार्वजनिक भने गरेको छैन।
विकिलिक्सले भने सबै साढे दुई लाख कागजात नै आफ्नो साइटमा सार्वजनिक गर्ने बताएको छ। तर इन्टरनेटको धेरै कुरा अमेरिका कै नियन्त्रणमा रहेकोले आगामी दिनमा निरन्तर विकिलिक्सलाई बाधाहरु आइ नै रहने निश्चित छ। अमेरिकाले त विकिलिक्सलाई मिडिया संस्था र जुलियनलाई पत्रकार मान्न नै अस्वीकार गरिसक्यो।
आशा गरौँ, जुलियनले बाँडेका भनेका यी एक लाख मानिसमध्ये कसै न कसैबाट अवश्य हामी नेपाली दूतावासबाट पठाइएका नेपालसम्बन्धी कागजात पनि कुनै दिन हेर्न पाउनेछौँ। यसका लागि तपाईँ पनि आफ्नो पक्षबाट प्रयास गर्नुहोला।
किनभने यो त्यस्तो कागजात हो, जसमा विभिन्न रहस्य लुकेको छ। नेपाली नेता, नागरिक समाज र पत्रकारहरुका त्यस्ता रुप हामीले त्यसमा देख्न पाउने छौँ, जसलाई हामीले अहिलेसम्म सार्वजनिक रुपमा देखेका छैनौँ। अमेरिकी राजदूत डराएर सक्रिय हुनु, नेपालको पत्रिकाले यो साइटलाई प्रतिबन्ध लगाउनु पर्छ भन्ने पक्षमा समाचार छाप्नु र त्यसैलाई सहयोग हुने गरी पूर्व गृहसचिवले एमआरपी मुद्दामा भारतीय राजदूत राकेश सुदले नेपालका परराष्ट्र मन्त्रीलाई लेखेको दबाबपूर्ण पत्र मिडियामा आउनु गलत हो, सूचना आंतक हो भन्ने तर्क गर्दै लेख लेख्नुले पनि यसको पुष्टि हुन्छ। त्यो पत्र सार्वजनिक नभएको भए एमआरपी भारतको हातबाट फुत्कन्थ्यो होला त ? पर्दापछाडिका उनीहरुका गतिविधि बुझ्नलाई पनि यी कागजात हात पार्न जरुरी छ।
र, यदि कसैले विकिलिक्सलाई प्रतिबन्ध लगाउने सोचिरहेको छ भने त्यसलाई गतिलो झापड पाकिस्तानको एउटा अदालतले दिएको छ। विकिलिक्समाथि प्रतिबन्ध लगाउन माग गर्दै दायर रिटलाई खारेज गर्दै न्यायाधीशले भनेका छन्- जतिसुकै तीतो र हानिकारक भए पनि हामीले सत्य सहने साहस गर्नुपर्छ’
No comments:
Post a Comment
thank you