मेरो नाम मिलन लामा हो। सिन्धुलीको कमलमाई नगरपालिका वडा नम्बर ११ मेरो गाउँ हो। नागरिकतामा २०३७ जन्म मिति भएपनि मेरो उमेर ३५ वर्ष हो। नागरिकता बनाउँदा पाँच वर्ष घटाएको थिए। कक्षा १० सम्म म गाउँमै पढेको हुँ। एसएलसी दिएपछि गाउँमा बस्न मन लागेन, त्यसैले २०५६ सालतिर काठमाडौं आए। काठमाडौंमा सहजै काम पाईन्छ होला भन्ठानेको, कामै पाईएन। गाउँका दाइहरुले काम खोजिदिन्छु भनेका थिए। तर खोजिदिएनन्। केही काम नपाएछि मैले खलासीको काम शुरु गरे।
खलासी गर्दा खानमात्रै ठिक्क हुन्थ्यो। त्यसैले अरुनै कामको खोजीमा थिए। चावहिलमा गोपिकृष्ण हल खुल्यो। त्यसपछि साथीहरुसँग एक हजारजति पैसा मागेर टिकट ब्ल्याक गर्न शुरु गरे। टिकट ब्ल्याक गर्दा राम्रै पैसा कमाईहुन्थ्यो। मैले ब्ल्याक गरेरै चार लाख जत्ति पैसा कमाए।
एक जना दिदी नातापर्ने कपडामा रंग लगाउने काम गर्नुहुन्थ्यो। उहांकोमा जाने आउनेगर्दा एक जना भारतिय नागरिकसंग चिनजान भयो। उसको नाम ममिम थियो। पैसा नभएको बेला उसले मलाई बेलाबखत पैसा दिन्थ्यो। उ स्टोनको पनि काम गर्ने रहेछ। उसले मलाई पाकिस्तान र भियतनाम गएर स्टोन ल्याउ भने। उनीहरुले नै टिकट किनिदिए। पाकिस्तानवाट एक बोरा निलम बोकेर काठमाडौं ल्याए।
भर्खरको उमेर थियो। कच्चा दिमाग। सबै पैसा मोज गरेर उडाए। एक वर्षसम्म केही काम गरिन। पैसा सकिएपछि चिन्ता बढ्न थाल्यो। गाउंको जग्गा वेचेर ११ जना साथीहरुसित मिलेर सन् २००० मा म फुड एन्ड वेभरेज पढ्न सिंगापुर गए। सिंगापुरमा काम पाईएन। दुख पाए। भाडा माझेर बसे। काम गर्दागर्दै एक जना जोन भन्ने सिंगापुरेसंग चीनजान भयो। उ सित ३५ डलर पैसा मागेर चिट्ठा हाले। सात लाखको चिट्ठा पर्यो। जोनले चिट्ठा साटेर आधा मात्र मलाई दियो।
सिंगापुरमा बस्दा धेरै पैसा सकियो। एक लाख सिंगापुरको डलर बांकी भएपछि नेपाल आए। नेपालमा आएर लाजीम्पाटमा बस्न थाले। पैसा व्याजमा लगाए। जोनसंग पुन एक लाख डलर पैसा सापटी मागेर दरवारमार्गमा रिबोक जुत्ताको शोरुम खोले। अहिलेको विनपी क्याफेसंगै मेरो जुत्ताको शोरुम थियो। ६० लाख लगाएको थिए। पसलमा विहारको एक जना मेनेजर राखेको थिए। हंककगं, बैंकक र चीनवाट जुत्ता ल्याएर बेच्थे। केदार श्रेष्ठसंग चिनजान भएपछि क्यासिनो जाने बानी लाग्यो। क्यासिनो जाने लतै बस्यो। मैले ७० लाख सम्पत्ति हारेपछि टाट पल्टीए।
विजय थापा काठमाडौं मेडिकल कलेजमा ल्याव असिष्टेन्टमा काम गर्थे। उनैले मेडिकलवालाहरुस"ग टन्न पैसा छ, फोन गरेर धम्क्याएपछि सजिलै पैसा आउंछ भन्ने प्रस्ताव ल्यायो। आकाश केसी, केदार श्रेष्ठ, गणेश कार्की र रविजंग थापा मिलेर ब्ल्याक स्पाईडर इन्टरनेशनल नाम राखेर धक्याउन शुरु गर्ने योजना बनायौं। र मेरो नाम सन्दीप पाठक जुरायौं। विजयले मेडिकलवालाहरुको नाम र नम्बर ल्याएपछि म स्पाईडर समुहको प्रमुख बनेर फोन गरेर पैसा माग्थे। अरु साथिहरु गएर पैसा ल्याउंथे।
पहिलो पटक काठमाडौं मेडिकल कलेजका पन्त नामका ब्यक्तिलाई फोन गरेर धम्क्याएको थिए। ३५ लाख पैसा आयो। पैसा बाडेर लिन्थ्यौं। विजयले नम्बर ल्याएपछि म फोन गर्थे। धेरैलाई फोन गरेर पैसा लियौं। ललितपुरमा म्यानपावरका एक जना सञ्चालकको हत्या भयो। हत्यामा हाम्रो समुहको नाम आएपछि नेपालमा बस्न गार्हो भयो। अनी म भारतको नयांदिल्लीमा गएर बसे। यही विचमा हेमन्त दिक्षीतको नाम र नम्बर आयो। मैले फोन गरेर धम्क्याए। तर, उनी पैसा दिन तयार भएनन्। साथीहरुले तर्साउने मात्र हो भन्थे गोली नै चलाएछन्। भारतमा पनि प्रहरीले हामीलाई खोज्न थाल्यो। नौ महिना चुप बस्यौं।
सबै साथी भारतमा आए। फेरी काम गर्ने कि नगर्ने भन्ने कुरा भयो। काम गर्ने सल्लाह भएपछि। लपी साँवासंग पैसा माग्यौं। कुरा भईरहेको थियो। काठमाडौं आएर साथीहरुले गोली हानेछन्। यसविचमा विभिन्न ब्यक्तिलाई फोन गरेर पैसा लिएका थियौं। मेरो भागमा ५५ लाखजत्ति परेको थियो।
नेपालमा प्रहरीले खोज्न थालेपछि भारतमा नबसी सिंगापुर गयौं। बैंकक र लाओस गएर बसे। श्रीमती गर्भवती थिईन।त्यसैले उनीसित भेट्न भारत आए। साथीहरु त्यहीवाट पक्राउ परे। म जोगिए। सिंगापुरमा बस्ने योजना बनाईरहेको थिए। २०६४ तिर सतिष अग्रवाल भन्ने भारतियले भारतमा मेरो विरुद्ध प्रहरीमा उजुरी हालेका रहेछन्। पटनामा मलाई भारतिय प्रहरीले पक्राउ गरेर दिल्ली पठाएर तिहाड जेलमा राख्यो।
२८ महिनापछि म जेलमुक्त भए। छुटेपछि म मेघालय, दार्जलिंगमा बसे। मेघालयमा बंगलादेशको मोवाईलले काम गर्थ्यो। दार्जलिगको सिमामा भुटानको मोवाईल लाग्थ्यो। दुबै तिरको मोवाईल लिएको थिए। पैसा थिएन। त्यसैले फेरी पुरानै काम गर्न थाले। काठमाडौंमा साथीहरु जम्मा गर्न थाले। पवन मित्तल र सतिषकुमार अग्रवाललाई फोन गरेर पैसा मागे। भारतिय प्रहरीले पक्राउ गर्दा ३० लाख खर्च भएको थियो। त्यो पैसा उठाउने योजना थियो। डा भोला रिजाल र नागेन्द्र पाम्पाटीलाई पनि फोन गरेर धम्क्याए । यो विचमा धेरै पैसा आएन। खर्च मात्र उठ्यो।
ठुलै काम गर्न योजना बनाउंदा बनाउंदै फेरी भारतिय प्रहरीले पक्राउ गर्यो। भारतिय प्रहरीवाट मुक्त भए लगत्तै नेपाल प्रहरीले पक्राउ गर्यो। जुवाको लतमा नफसेको भए म अपराधमा लाग्ने थिईन। जुवाको लत र चाडै पैसा कमाउने लोभले अपराधी बने। अहिले पछुतो लागेको छ।
(प्रहरीले सोमवार सार्वजनिक गरेको लामाको श्रब्यदृष्य बयानमा आधारीत)
No comments:
Post a Comment
thank you